संघिय गणतन्त्र नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने १० वटा जिल्ला मध्ये सल्यान जिल्ला एक पहाडी जिल्लाकाे रुपमा परिचित छ । महाभारत श्रृङखलाको मध्य भागमा अवस्थित सल्यान जिल्ला प्राकृतिक सम्पदा र धार्मिक रुपले महत्तवपूर्ण मानिन्छ । गुणस्तरिय अदुवा र अमिलो जातको फलफुल, आलु, जडीबुटी, माैसमी तथा बेमाैसमी तरकारी यहाँको मुख्य उत्पादनका वस्तु हुन । कुपिन्डेदह ताल यहाँकाे मुख्य पर्यटकिय स्थलको रुपमा परिचित छ । यसका अतिरिक्त खैरावाङ भगवतिको मन्दिर, लक्ष्मिपुर शक्तिपिठ, छायाँक्षेत्र मन्दिर, कालिमाटी गंगामाला मन्दिर, मुलखोला शिवगुफा तथा कृष्ण मन्दिर देवस्थल यहाँको महत्तवपूर्ण धार्मिक स्थलको रुपमा रहेका छन् । विभिन्न जडिवुटी, पशुपंक्षि, ताल तलैया, झरना खोला आदिले भरिएको यस जिल्लाकाे प्रमुख नदि शारदा हो । यस नदिको फांंटहरुमा धान, गहुँ, मकै, तोरी तथा अन्य नगदे वालीहरुको उत्पादन हुने गर्दछ । जनगणना २०६८ अनुसार २,४२,४४४ जनसंख्या भएको यस जिल्लाकाे जिल्ला सदरमुकाम मध्ये भागमा अवस्थित खलंगा हो । वर्तमान संरचना अनुसार ७७ जिल्ला मध्ये यस जिल्लामा संघिय निर्वाचन क्षेत्र १ र प्रदेश निर्वाचन क्षेत्र २ वटा रहेका छन् भने ३ वटा नगरपालिका र ७ वटा गाउँपालिका गरि १० स्थानिय तहमा विभाजित यस जिल्लाको पूर्वमा रोल्पा, पश्चिममा सुर्खेत र बर्दिया, उत्तरमा जाजरकोट र रुकुम, पश्चिम दक्षिणमा दाङ र बाके जिल्ला पर्दछन् । कर्णाली प्रदेशको स्थापना संगै कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहत रहने गरी स्थापना भएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्लेयालय लघु, घरेलु, साना उद्योगहरुको प्रवर्द्धन र विकास कार्य प्रभावकारी रुपमा संचालन गर्ने, गराउने, प्रचलित संघिय एवं प्रदेश कानुन बमोजिम उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण सम्बन्धी कार्य गर्ने, साविक घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय, सल्यानबाट उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षणका सम्बन्धमा सम्पादन गर्दै आइरहेका प्रचलित कानुन बमोजिम काम कार्वाहीहरु गर्ने रहेको छ ।